कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार १०:४३
२० असोज २०८३ काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनका ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण सुरु गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारी दिन चाहनेले सभागृहभित्रै तोकिएको रकम बुझाएर फारम लिन सक्ने व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूको नामावली पनि राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएसँगै उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीमा प्रवक्ता पदसमेत थप गरिएको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको छ। कांग्रेसले प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको संख्या पनि बढाइएको जनाएको छ।








प्रतिकृया