• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

कोराला नाका सञ्चालनसँगै गण्डकी–लुम्बिनीमा व्यापारिक अवसर

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार १०:३५

असोज १, २०८२ काठमाडौं – मुस्ताङको कोराला नाका व्यापारिक रूपमा सञ्चालनमा आएपछि गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ व्यवसायिक अवसर सिर्जना भएको व्यापारीहरूले बताएका छन्। तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि व्यापारीहरूले मुस्ताङ, म्याग्दी हुँदै काठमाडौंसम्म चिनियाँ सामग्री आयात गर्न थालेका हुन्। २०८० साल कात्तिक २७ गतेदेखि स्थानीय बासिन्दाका लागि मात्र खुला भएको कोराला नाका दुई वर्षपछि औपचारिक रूपमा व्यापारिक आवागमनमा प्रयोग हुन थालेको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार भारत र चीनका सामान आयात–निर्यातका साथै नेपालमै उत्पादन भएको वस्तुको बजार विस्तारमा कालीगण्डकी कोरिडोर र कोराला नाका महत्वपूर्ण माध्यम बन्ने देखिएको छ। उनले हालसम्म करिब ३०० कन्टेनर कोराला नाका हुँदै आइसकेको र थप १,५०० कन्टेनर दसैँका सामान लिन जाँदै गरेको जानकारी दिए।

Kamana Sewa

कोराला नाकास्थित भन्सार कार्यालयका प्रमुख रमेश खड्काले रसुवा र तातोपानी बन्द भएपछि दसैँका लागि व्यापारीहरूले चीनमा किनेका सामान बोकेका कन्टेनर डाइभर्ट भएर कोरालाबाट आउन थालेको बताए। उनका अनुसार हालसम्म चीनबाट १५१ विद्युतीय गाडी आयात भइसकेका छन् भने नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा चीन निर्यात गरिएको छ।

Classic Tech Desktop

समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडानसहित भन्सार कार्यालय सञ्चालनमा ल्याएको हो। हाल रसुवा नाका असार २४ गतेको बाढी–पहिरोपछि बन्द छ भने तातोपानी नाका सडक मर्मत ढिलाइ हुँदा करिब ४६ दिनदेखि अवरुद्ध भएको छ। यस कारण दसैँको समयमा कच्चापदार्थ र तयारी सामानको अभाव झेलिरहेका उद्योगी–व्यवसायीलाई कोराला नाकाको सञ्चालनले ठूलो राहत मिलेको छ।

प्रतिकृया