• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

पहिलो महिनामै व्यापार घाटा एक खर्ब १९ अर्ब नाघ्यो, आयात निर्यात कति ?

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ११:१९

 भदौ ३१,२०८२ काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो।

गत साउनमा कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने आयात ०.६ प्रतिशतले घटेको थियो। आयातका आधारमा भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

Kamana Sewa

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल, कोइला र रासायनिक मलको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस् र तेलहनको आयात घटेको छ।

Classic Tech Desktop

यस्तै, चालु आवको पहिलो महिनामा निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फ ६५.२ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले घटेको छ। निर्यात हुने वस्तुमा भटमास तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची र जुटका सामानको वृद्धि भएको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो।

प्रतिकृया