सिन्धुलीबाट बेपत्ता भएका हायू परिवार पोखरामा फेला, प्रहरीद्वारा आफन्तको जिम्मा
प्रकाशित मिति
२०८२ श्रावण १३ गते, मंगलवार १०:१६
श्रावण १३ ,२०८२ काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका उर्मिला हायूसहितको परिवार पोखरामा फेला परेका छन्। बेपत्ता भएको खबरले चर्चा पाएको हायू परिवार पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएको हो।
प्रहरीका अनुसार सोमबार राति फेला परेका उनीहरूलाई धनबहादुर र अमिस तामाङको जिम्मा लगाइएको छ। जिम्मा दिने कार्य वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

साउन १० गते मध्यराति एकैपटक थातथलो छोडेर बेपत्ता भएका भनिएका परिवारका सदस्यहरू सुरुमा १६ जना रहेको जनाइएको थियो। तर, खोजीका क्रममा पोखरामा उनीहरू १९ जना फेला परेका छन्। प्रहरीका अनुसार भेटिएका सबैजना हायू परिवारका सदस्य तथा नातेदार हुन्।

सिन्धुली, रामेछाप र कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा खोजी कार्य अघि बढाइएको थियो। खोजीका क्रममा हायू परिवार पोखरामा रहेको खुलेको हो। उनीहरू पोखरामा विभिन्न होटलमा बसेको र अन्ततः गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा शरण लिएका थिए।
परिवारका सदस्यहरूका अनुसार उनीहरूले छेत्पा गाउँमा बारम्बार बिरामी हुने समस्या देखिएकाले गाउँ छाडेर नफर्किने निर्णय गरेको बताएका छन्। उनीहरूले आफूहरू पोखरामा ज्यामी (मेसिन कामदार) काम गर्न आएको बताए पनि यस घटनाले सामाजिक सरोकार तथा मानसिक स्वास्थ्यप्रति पनि गम्भीर ध्यानाकर्षण गराएको छ।




प्रतिकृया