सामाजिक सुरक्षा कोषले बाँड्यो ब्याज
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार ०२:३५
श्रावण ६ ,२०८२ काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा रकममा व्याज वितरण गरेको छ। कोषका अनुसार २३ लाख ७९ हजार ५८५ जना योगदानकर्ताका खातामा कुल २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज रकम पठाइएको छ।
कोषले चैत ४ गतेसम्म जम्मा भएको रकममा ५.५ प्रतिशत र त्यसपछिको चैत ५ गतेदेखि असार मसान्तसम्म जम्मा रकममा ५ प्रतिशत ब्याज प्रदान गरेको छ। यो रकम सम्बन्धित योगदानकर्ताहरूको व्यक्तिगत खातामा जम्मा गरिएको कोषले जानकारी दिएको छ।

कोषका तथ्यांक अनुसार हालसम्म औपचारिक क्षेत्रका ६ लाख ३ हजार ४२६ जना, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३ जना, अनौपचारिक क्षेत्रका ७२० जना तथा स्वरोजगार समूहबाट ४२२ जना गरी जम्मा २३ लाख ९० हजार १४१ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन्।

सामाजिक सुरक्षा कोषले हालसम्म कुल ८६ अर्ब ८६ करोड रुपैयाँ बराबरको योगदान संकलन गरिसकेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजनाहरू कोषले सञ्चालन गरिरहेको छ। कोषका अनुसार विभिन्न सुविधा योजनाहरू अन्तर्गत योगदानकर्ताहरूलाई हालसम्म १५ अर्ब ७७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकिएको छ।
सामाजिक सुरक्षालाई मजबुत बनाउने दिशामा कोषको यो कदम सकारात्मक मानिएको छ भने योगदानकर्ताहरूलाई दीर्घकालीन लाभ सुनिश्चित गर्नको लागि यस्ता योजनाहरू प्रभावकारी हुने विज्ञहरूको धारणा छ।




प्रतिकृया