• 9:00 am

भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी

प्रकाशित मिति

२०८२ बैशाख ११ गते, बिहीबार ०४:३५

वैशाख ११, २०८२ काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमण गर्ने आतंककारीहरूले कल्पनाभन्दा ठूलो सजाय पाउने बताएका छन् ।

बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा बोल्दै मोदीले आतंकवादलाई दण्ड नदिई नछोडने बताउदै भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्ने र दण्ड दिने बताए ।

उनले भने- ‘आज, बिहारको भूमिबाट, म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ । हामी उनीहरूलाई पृथ्वीको अन्तिम कुनामा पनि छोड्ने छैनौं । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।

आतंकवादलाई दण्ड नदिई छोडिने छैन। न्यायको लागि जे पनि प्रयास गर्नुपर्छ। यस संकल्पमा सम्पूर्ण देश एकसाथ उभिएको छ। मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ। म विभिन्न देशहरू र उनीहरूका जनतालाई धन्यवाद दिन्छु जो हामीसँग उभिरहेका छन्।”

मोदीले आतंककारीहरूले निर्दोष देशवासीहरूलाई मारेको क्रूरताबाट सम्पूर्ण देश दुःखी भएको बताउदै सम्पूर्ण देश पीडितहरूको साथमा उभिएको बताए ।

उनले यो आक्रमण निहत्था पर्यटकहरूमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने साहस गरेको बताउदै भने- ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यो आक्रमण गर्ने आतंककारीहरू र यस आक्रमणको षड्यन्त्र गर्नेहरूलाई उनीहरूको कल्पनाभन्दा ठूलो सजाय दिइनेछ ।’

प्रतिकृया