अमेरिकी उपराष्ट्रपति जेडी भेन्स नयाँ दिल्लीमा
प्रकाशित मिति
२०८२ बैशाख ८ गते, सोमबार १२:४९
वैशाख ८, २०८२ काठमाडौँ: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनकी श्रीमती उषा भेन्स भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् ।
जेडी भेन्सले इटालीको भ्रमण पुरा गरीभारतको भ्रमणमा आएका हुन् । उपराष्ट्रपतिले दुवै देशका नेताहरूसँग साझा आर्थिक र भूराजनीतिक प्राथमिकताहरूबारे छलफल गर्नेछन् ।

भारत भ्रमणका क्रममा उपराष्ट्रपति भेन्सले सुरुमा नयाँ दिल्ली, जयपुर र आग्राको भ्रमण गर्नेछन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उपराष्ट्रपति र उनको परिवारले सांस्कृतिक स्थलहरूमा हुने कार्यक्रमहरूमा पनि भाग लिनेछन् ।

उपराष्ट्रपति भेन्सकी श्रीमती उषाका आमाबाबु, कृष चिलुकुरी र लक्ष्मी चिलुकुरी, १९७० को दशकको अन्त्यतिर भारतबाट संयुक्त राज्य अमेरिका सरेका थिए । उषा पेशाले एक वकिल हुन् र उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन जी. रोबर्ट्स र कोलम्बिया जिल्ला सर्किटका लागि अमेरिकी पुनरावेदन अदालतका न्यायाधीश ब्रेट काभानोको लागि पनि काम गरेकी छिन् । उनले येल विश्वविद्यालयबाट स्नातक डिग्री र क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री पनि हासिल गरेकी छिन्, जहाँ उनी गेट्स क्याम्ब्रिज स्कलर थिइन् ।




प्रतिकृया