• 6:20 pm

नेपाल टेलिकमको आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार १२:०८

कार्तिक ३० , २०८१ काठमाडौँ: नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ। टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो। कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ । बैंकहरुको घट्दो ब्याजदरको असर टेलिकमको आम्दानीमा परेको हो।

वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ। कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ। ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ। यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ ।

नाफा घट्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ। पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।

प्रतिकृया