काठमाडौं उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ नगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
प्रकाशित मिति
२०८० बैशाख १३ गते, बुधबार १०:२५
१३ वैशाख २०८०, काठमाडौँ : काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी(पत्रमा हस्ताक्षर भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी(पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी(पत्र आदान प्रदान समेत गर्नुभयो ।

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । बुढानिलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ।ब। २०७९र८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब.२०८०र०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौता(पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।




प्रतिकृया