लुम्बिनीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै एमालेका लिला गिरी
प्रकाशित मिति
२०७९ पुष २७ गते, बुधबार ०१:१२
२७ पुस २०७९, काठमाडौँ: लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्।गिरीको टोली अहिले प्रदेश प्रमुख अमिक शेरचनलाई पर्खदै छन्। यसअघि मंगलबार दाबी पेश गर्ने भनिएता पनि नेकपा माओवादी केन्द्रले आधा आधा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग राखेपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश हुन सकेन।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजे सम्मको समयसीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए। गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सम्भवतः प्रदेश प्रमुख शेरचनले गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नेछन्।

लुम्बिनी प्रदेशमा सबभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ जना सांसदको समर्थन रहने छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ।

चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले सांसदको टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेर निर्वाचन जितेका २ जना सांसदले अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गरिसकेका छैनन् । २७ जना सांसदसहित प्रदेशमा दोस्रो ठूलो दल रहेको नेपाली कांग्रेस, तीन जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी तथा एक/एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन्।




प्रतिकृया