सूर्या लाइफ र ज्योति लाइफले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै
प्रकाशित मिति
२०७९ पुष ५ गते, मंगलवार ०१:०७
५ पुस २०७९, काठमाडौँ: सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एकीकृत कारोबार शुरू गर्दै छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडकोको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार हुनेछ ।
डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनको लागि बिहान ६ गतेदेखि सम्पूर्ण सेवासमेत अवरुद्ध हुने कम्पनीले जानकारी दिएको छ ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच गत असार १२ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता अनुपातमा मर्जरमा गएका हुन् ।
दुई कम्पनी गाभिएर बनेको नयाँ कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर महानगरपालिका-७, विराटनगर, मोरङ, प्रदेश नं. १ मा रहने पनि कम्पनीले जानकारी दिएको छ ।
सम्झौता अनुसार रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा र केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफका पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा रहनेछन् ।
दुवै कम्पनी १ः०.८२४५ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर ज्योति लाईफका सेयरधनीले ०.८२४५ सेयर पाउनेछन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।








प्रतिकृया