• 1:28 am

कैलालीसहित पश्चिम तराईमा शीतलहर

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार १०:५३

२८ मंसिर २०७९, धनगढी : कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ। बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।


लम्की बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउँछिन् । यस्तै, व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन्। उनी सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताइन् ।


बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।


जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा-३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन्।


शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ ।

प्रतिकृया