फाइनलमा पुगेपछि मेस्सीले भने – ‘मलाई यो टिममा विश्वास थियो’
प्रकाशित मिति
२०७९ मंसिर २८ गते, बुधबार ०७:३४
२८ मंसिर २०७९, दोहा : कतारमा जारी फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फाइनलमा पुगेको छ । लुसेल रंगशालामा मंगलबार राती अर्जेन्टिनाले ३-० को सानदार जीत निकाल्दै फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा किलीयन एमबाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता पनि भए ।
खेलपछि मेस्सीले आफूलाई टिममा विश्वास रहेको बताए । ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । म लामो समयदेखि यो खेलमा रमिरहेको छु । मलाई यो टिममा विश्वास थियो कि हामी अन्त्यसम्म जान सक्छौं भनेर । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौं,’ मेस्सीले भने । ‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर खुसी छु,’ उनले थपे ।
‘हामी प्रतियोगिताको सुरुवातमा बलियो दावेदारको रुपमा थिएनौं । तर हामी कसैलाई सहज रुपमा छोड्ने पक्षमा पनि थिएनौं । हामीले हरेक खेलपिच्छे आफ्नो क्षमता देखाएका छौं ।’ अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा टुंगिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल आज राति हुनेछ ।
प्रतिकृया