बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम
प्रकाशित मिति
२०७९ मंसिर २६ गते, सोमबार १०:५१
२६ मंसिर २०७९, काठमाडौँ: बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । मङ्सिर २१ गतेदेखि खुला भएको सो आईपीओमा लगानीकर्ताले सोमबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर भर्न सकिन्छ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारणबाट ५ लाख १५ हजार २२० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको छ । आईपीओमा सर्वसाधारणबाट माग गरिएभन्दा २१.३८ गुणा बढी माग परेको छ ।
दोस्रो चरणमा स्थानीयमा अवितरित सहित कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये २७ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि र ११ हजार ८० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि बागलुङमा रहेको १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
प्रतिकृया