बैंकको उच्च ब्याजदरका विषयमा अन्तरक्रिया
प्रकाशित मिति
२०७९ मंसिर १५ गते, बिहीबार ०६:३०
१५ मंसिर २०७९, काठमाडौँ : बैँकहरूले हाल निर्धारण गरेको उच्च ब्याजदरका विषयमा मोरङको बेलबारीमा व्यवसायी, बैंक पदाधिकारी र नगरपालिकाबीच छलफल भएको छ । बेलबारी उद्योग वाणिज्य संघको पहल र बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरूले चर्को ब्याजदरको कारणले व्यवसाय दिनदिनै धरासयी बन्दै गएको गुनासो गरे ।
बेलबारीका व्यवसायीले उच्च बैँक ब्याजदर तथा प्रतिकूल बैकिङ नीतिबिरुद्ध यसअघि पनि विरोध जुलुस निकालेर विरोध गरेका थिए । व्यापार व्यवसाय चौपट भएको समयमा बैँकले व्याज वृद्धि गर्दा व्यवसाय थला परेको र उठ्नै नसक्ने गरि बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्कीले बताए । बैँकले बढाएको ब्याज तत्काल फिर्ता लिन र व्यवसायीलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले आग्रह गरे ।

बैंकले तत्काल ब्याजदर नघटाए स्थानीय स्तरमा रहेका सबै व्यवसाय ठप्प हुन सक्ने अवस्था रहेको उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले बताए । कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले अहिले देखिएको समस्या स्थानीयस्तरको मात्र नभएर देशकै समस्या रहेकोले व्यवसायीका गुनासा तत्काल सहज गर्न सरकार समक्ष पहल गर्ने बताए । बैंकका प्रतिनिधिहरूले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिए ।





प्रतिकृया