• १२:४१ २०८० फाल्गुन ११ गते
  • 12:41 pm

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गते देखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०४:०९

traffic police sawari karbahi

२२ कार्तिक २०७९, काठमाडौं : काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मिति २०७९ मंसिर १५ गते बिहिबार देखि तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने,लेन नियम उल्लङघन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कार्बाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ ।


काठमाडौ उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तिव्र गतिमा सवारी साधन चलाउनु रहेको छ । तिव्र गतिका कारण हुने दुर्घटनामा मानविय क्षति बढी हुने गर्दछ । आर्थिक बर्ष २०७८/०७९ मा ३५४३ र चालु आर्थिक बर्षको ३ महिनाको ६४९ ओटा सवारी दुर्घटनाहरु तिव्र गतिका कारण भएका छन् । यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी साधनको गति चेकजाँच गरी तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई आर्थिक बर्ष २०७८/०७९ मा १८ हजार ४ सय४७ जना र चालु आर्थिक बर्षको ३ महिनामा८ हजार ५ सय ८४ जनालाई उक्त कसुरमा कारवाही गरिएको भएता पनि सवारी चालकहरुमा सचेतनाको कमीले गर्दा तिव्र गतिमा सवारी साधन चलाउने प्रवृतीमा कमि नआएको र दुर्घटनाहरु समेत बढ्दै गएको हुँदा तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियमअनुसार जरिवाना गर्नुका साथै मिति २०७९ मंसिर १५ गते बिहिबार देखि अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

प्रतिकृया