• १५:५२ २०८० चैत्र १५ गते
  • 3:52 pm

‘आगामी चुनावमा आत्म समीक्षा गरेर राम्रा उम्मेदवारहरु छानौं ‘– देवीका कुँवर

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ११:३४

debika

२७ भाद्र २०७९, काठमाडौँ: चितवनकी देवीका कुँवरले आगामी प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नं. २ बाट स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएकी छिन् । तपाईंको उम्मेदवार किन र चुनावी एजेण्डाहरु के के छन् भनि मातृभूमिन्यूजका प्रतिनिधिले सोधेको प्रश्नमा उनी भन्दछिन्, “अहिलेको नेपालमा आधा आकास महिलाले ढाकेका छन् । नीति निर्माण तहमा अब महिला पहिला भन्ने नाराको साथ मैले आफ्नो उम्मेदवारी दिएकी हुँ । मेरो उम्मेदवारी किन भनेर प्रश्न गरिरहँदा चितवन क्षेत्र नं. २ मा कृषि र पर्यटनको हब बनाउन, विद्युत पूर्वाधारलाई व्यवस्थित बनाउन, महिला सशक्तिकरण तथा घर घरमा स्वास्थ्य सेवाको विस्तार, स्वस्थ, समृद्ध र सबल हाम्रो चितवन भन्ने एजेण्डाको साथमा म उभिएकी छु ।” साथै उनी आफ्नो उम्मेदवारी चितवन क्षेत्र नं. २ लाई व्यवस्थित गराउन र वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र र यसको आवश्यकतालाई मध्यनजर गरेर नै आफूले गर्न सक्ने योजनाहरु लिएर अघि बढेको बताएकी छिन् ।


उनी अगाडि भन्दछिन्, “अहिले प्रत्येक नेपालीले काठमाडौंका बालेन्द्रले गरिरहेका कामहरु हेरिरहनु भएको छ, धरानको हर्क साम्पाङ राईले गरेको कामहरु हेर्नुभएको छ । अहिले जनता माझ पार्टीलाई भोट दिएर पहिलेको जस्तो अवस्था गराउनुहुन्न भन्ने जनचेतना आएको छ । यो पार्टीले राम्रो काम गर्न नसकेको कारणले जुन अर्थतन्त्रमा गिरावट आइरहेको छ, यो गिरावटलाई उठाउनको लागि हामी लागि परिरहेका छौं । अहिले ४२ प्रतिशत राष्ट्रिय घाटामा छौं । हामी श्रीलंकाको अवस्थामा पुग्न नदिनको लागि पनि स्वतन्त्र उम्मेदवारले जित्नुपर्दछ । पार्टी होइन व्यक्तिहरु नीति निर्माण तहमा पुग्नुपर्दछ ।”


आफ्नो व्यक्तिगत परिचय प्रकाश पारिदिन अनुरोध गर्दा उनले भनेकी छिन् उनी सामाजिक अभियन्ता हुन् । विगत ९ वर्षदेखि समाजमा देखिएका साना साना समस्याहरुसँग जुध्दै र आफूले सक्दो समाधान गर्दै आइरहेकी छिन् । उनले गरेका कार्यहरुमा विदेशमा अलपत्र परेर बसेका नेपालीहरुलाई आफ्नो नेतृत्वमा विभिन्न सरोकारवालाहरुको मद्दतमा ल्याउने कार्य गरेकी छिन् । साथै कोभिडको समयमा जनतालाई विभिन्न खालका सहयोगहरु गरेकी छिन् । हातमुख जोर्न नसक्ने मानिसहरुलाई अरु साथीहरुको सहयोगमा खाद्यान्नको सहयोग पनि गरेकी छिन् । यस्तै धेरै अभियानहरु जस्तो बिरामीहरुलाई बचाउ अभियान, सहयोग गर्ने अभियान गरेकी छिन् । उनले सरसफाई तथा वातावरणको क्षेत्रमा पनि उनले कार्य गरिरहेकी छन् ।


उनी अगाडि भन्दछिन्, “विगत ९ वर्षदेखि यही क्षेत्रमा कार्य गरिरहेकी छु । साथै मैले काउन्सिलिङको कार्य पनि गरिरहेकी छु । डिप्रेसनमा जाने धेरै महिलाहरुको मलाई फोन पनि आउँछ, उनीहरुलाई मैले काउन्सिलिङको काम पनि गरिरहेकी छु । समाजका यस्तै साना साना र ठूला समस्याहरुसँग जुध्दै जाँदा देशको परिस्थिति म पनि नीति निर्माणमा गएर काम गर्नको लागि मैले आफ्नो उम्मेदवारी दिएकी हुँ ।”


उनले बीबीएस पूरा गरेकी छिन् र पढाईलाई निरन्तरता दिइरहेकी छिन् । उनी बीजनेस वुमन हुन् । उनको उमेर ३० वर्षको भयो । अहिले देशको अवस्था हेरेर नेता परिवर्तन हुने छाँट नदेखिएको हुँदा मतदाताहरुलाई आगामी निर्वाचनमा आत्म समीक्षा गरेर मात्र राम्रो उम्मेदवारलाई भोट दिन अनुरोध गर्दछिन् ।

प्रतिकृया