रिचार्लिसन ५ वर्षका लागि टोटनहममा अनुबन्ध
प्रकाशित मिति
२०७९ असार १७ गते, शुक्रबार ०३:३३
१७ असार २०७९ काठमाडौंः ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहम हट्सपरमा अनुबन्ध भएका छन् । टोटनहमले प्रिमियर लिगकै अर्को क्लब एभरटनबाट रिचार्लिसनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो । यसको अर्थ उनको सम्झौता रकम ६० मिलियन पाउण्ड बराबर भएको बीबीसीले उल्लेख गरेको छ । २५ वर्षीय रिचार्लिसनले गत सिजन एभरटनलाई रेलिगेसनबाट जोगाउन मद्दत गर्दै १० गोल गरेका थिए । साथै ५ असिस्ट पनि गरेका थिए ।
सन् २०१८ मा वाटफोर्डबाट एभरटन पुगेका रिचार्लिसनले त्यहाँ रहँदा १३५ लिग खेलमा ४३ गोल गरेका थिए । च्याम्पियन्स लिगमा छनोट भएको टोटनहमले आगामी सिजनका लागि राम्रो टिम बनाउन फरवार्ड भित्र्याएको हो ।
टोटनहमले यसअघि नै गोलकिपर फ्रेजर फोस्टरलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरिसकेको छ । यस्तै टोटनहमले वाईभेस बिसाउमा र इभान पेरिसिकलाई पनि अनुबन्ध गरिसकेको छ । यद्यपी जहाँ पनि खेल्न सक्ने रिचार्लिसन एभरटनमा सुरुवाती दुई सिजन सबैखाले प्रतियोगितामा गरेर संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।सन् २०१८ अमेरिका विरुद्ध खेल्दै ब्राजिलका लागि डेब्यु गरेका रिचार्लिसनले राष्ट्रिय टिमका लागि ३६ खेल खेल्दै १४ गोल गरेका छन् ।







प्रतिकृया