कैलालीमा सेनाका मेजर र स्थानीयबीच झगडा, जंगी अड्डाले थाल्यो छानबिन
प्रकाशित मिति
२०७८ कार्तिक २३ गते, मंगलवार ०५:४२

२३ कार्तिक, २०७८ काठमाडौँ : आइतबार साँझ कैलाली चिसापानीका हर्कबहादुर रावल होटलको सटर बन्द गरेर आफन्तसँग बसिरहेका थिए । साढे ८ बजेतिर पछाडिको ढोकाबाट एक जना अपरिचित मानिस प्रवेश गर्न खोजे । रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजे तर उनी जबरजस्ती छिरे ।रा वललाई अपशब्दसहित गालीगलौच गर्दै उनी होटलभित्र प्रवेश गरेको रावल बताउँछन् । त्यहीबेला उनले आफू नेपाली सेनाको मेजर भएको बताउँदै धाकधम्कीपूर्ण भाषाको पनि प्रयोग गरेको उनी सुनाउँछन् ।
रावलको भनाइमा त्यो बेला उनीसँगै उनकै आफन्त धिरज शाही, भक्तबहादुर शाही र लव शाही बसिरहेका थिए । ‘उहाँहरु मेरो परिवारकै मान्छे हुनुहुन्छ । जब ती अपरिचित मान्छे मेरो होटलभित्र जबरजस्ती प्रवेश गरे त्यसपछि उनीहरु तीनै जनाले मेजर सा’ब दर्शन भनेपछि म चुप लागेँ,’ उनले भने । रावल उनीसँग पूर्व चिनजान नभएपनि होटलभित्र प्रवेश गरेपछि मात्र नेपाली सेनाको सुदूूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाही भएको थाहा पाएको बताउँछन् ।
स्थानीयका अनुसार त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर निजी गाडीमा राति नै हतियारसहितका सैनिक ल्याएर पुनः चिसापानी बजार पुुगेका थिए । ‘उहाँ चिसापानीकै लुुक होटलका सञ्चालकलाई ठीक पार्ने भन्दै ब्यारेक फर्किएर हतियारसहितका सैनिक निजी गाडीमा ल्याएर पुनः त्यहाँ आउनुभयो,’ एक स्थानीयले भने, ‘त्यसपछि आक्रोशित स्थानीयको भीडले उनीमाथि आक्रमण गर्दै उनी सवार गाडीमा पनि तोडफोड गरेका थिए ।’ त्यसपछि प्रहरीले मेजर शाहीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले लगायो सेनालाई जिम्मा
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले पनि नेपाली सेनाका मेजर शाही मदिरा सेवन गरेर हतियारसहित आइतबार राति चिसापानी पुगेपछि विवाद भएको बताए ।
आक्रोशित स्थानीयले शाहीमाथि आक्रमण गरेर घाइते बनाएपछि प्रहरी कार्यालयमा राखिएको जनाए । स्थानीयको ढुङ्गामुढाबाट घाइते भएका शाहीको टाउकोमा चोट लागेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले उपचारपछि सेनाको जिम्मा लगाएको जानकारी दिए ।
मेजर शाहीले भने समान्य वादविवाद मात्रै भएको दाबी गरेका छन् । ‘होटल सञ्चालकले तपाईं को आउनुभयो रु भनेर सोध्नुभयो, म आफ्नो परिचय दिएर भित्र प्रवेश गरेको हुँ,’ शाहीले अनलाइनखबरसँग दाबी गरे, ‘त्यहाँ मैले चिनेकै साथीहरु पनि हुनुहुन्थ्यो । सामान्य वादविवाद मात्र भएको हो । बाहिर आए जस्तो ठूलो घटना होइन ।’
सेनाले थाल्यो छानविन
मेजर शाही मुछिएको घटनाबारे नेपाली सेनाको जंगी अड्डाले पनि छानविन गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार घटनाबारे जानकारी आएपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको छ ।
एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर दिने प्रतिवेदनका आधारमा उनीविरुद्ध कारबाही हुने/नहुने निर्क्यौल हुने बताइएको छ । सैनिक अनुशासन र आचारण विपरीतको कार्य कुनै हालतमा क्षम्य नहुने सैनिक मुख्यालयले जनाएको छ ।
प्रतिकृया