• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

प्रश्न उठिसक्यो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०१:२५

२४ असोज, २०७८ काठमाडौँ : एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।


‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ ।

Kamana Sewa

उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए । ‘दोष गजेन्द्र हमालको होइन, दोष, प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको हो । प्रश्न उहाँहरूमाथि उठेको हो । हिजो हामीमाथि आरोप लगाइएको थियो तर आज उहाँहरुको व्यवहारबाटै कस्तो सेटिङ रहेछ भन्ने देखियो’, भट्टराईले भने ।

Classic Tech Desktop

उनले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भट्टराईको भनाई छ । ‘यो गजेन्द्र हमालको मात्रै कुरा होइन, यो त अदालत र सरकारको कुरा हो, लोकतन्त्र र संविधानको धज्जी उहाँहरुले उडाउनुभयो’, भट्टराईले भने, ‘बन्नेको भन्दा पनि बनाउनेको गल्ती हो । उहाँले राजीनामा गर्दैमा सब ठीकठाक भयो या हुन्छ भन्ने होइन ।’


नेता भट्टराईले स्वतन्त्र न्यायालयमाथि दाग लगाउने प्रधानन्यायाधीशबारे महाअभियोग लगाउने वा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने भन्दै अहिले नै त्यसबारे आफुले केही भन्न नसक्ने बताए । ‘त्यसबारे पार्टीभित्र छलफल भइसकेको छैन । छलफल हुनपनि सक्छ । तर यो विषय नैतिकता र मूल्य मान्यतासँग जोडिएको विषय भएकाले प्रधानन्यायाधीशले नै मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ ।’

प्रतिकृया