एमाले केन्द्रीय कमिटी बैठक आज, पार्टी निर्देशन नमान्नेलाई कारबाही होला त ?
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ०९:२१
४साउन, २०७८ काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित हुनेछ । यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए ।

एमालेका ३२ मध्ये २२ जनाले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए । विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने उनको भनाइ छ ।

सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो । तर, संविधानको धारा ७६ (५ )को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कुनै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ ।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ । तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल(खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन ।




प्रतिकृया