घरेलु मैदानमा कोपा अमेरिका फुटबल सारेकोप्रति ब्राजिलका खेलाडी असन्तुष्ट, कप्तान कासेमिरो पत्रकार सम्मेलनमा आएनन्
प्रकाशित मिति
२०७८ जेष्ठ २१ गते, शुक्रबार ११:२६
काठमाडौँ : दक्षिण अमेरिकाको महादेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका घरेलु मैदानमा सारेको प्रति ब्राजिलका खेलाडीहरु असन्तुष्ट देखिएका छन्। शुक्रबार इक्वेडरविरुद्ध हुने विश्वकप छनोटअघि आयोजित पत्रकार सम्मेलन ब्राजिलका कप्तान कासेमिरोले बहिस्कार गरेका छन्।
ब्राजिलका प्रशिक्षक टिटेले कोपा अमेरिका ब्राजिलमा सारिएकोप्रति आफ्ना खेलाडीहरु असन्तुष्ट रहेको बताएको गोल डटकमले जनाएको छ। ब्राजिल सरकारको सहमतीमा कोपा अमेरिका केहि दिनअघि ब्राजिलमा आयोजना गर्ने निर्णय भएको थियो। त्यसअघि यो प्रतियोगिता कोलम्बिया र अर्जेन्टिनाले आयोजना गर्ने तय थियो। तर कोलम्बियाको राजनीतिक संकट र अर्जेन्टिनामा बढ्दो कोरोना महामारीको कारण देखाउँदै प्रतियोगिता ती ठाउँबाट सार्ने निर्णय भएको थियो।
कोपा अमेरिका आगामी साता अर्थात जुन १० तारिखबाट सुरु हुँदै छ। तर त्यसअघि ब्राजिलका जनताले यसको विरोध गरिरहेका छन्। यसअघि सन् २०१४ को विश्वकप र २०१६ को ओलम्पिक खेलकुदअघि पनि त्यहाँ जनस्तरमा तिव्र विरोध भएको थियो। मुलुकको गरिबीलाई बिर्सिएर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा पैसा खर्चिएको भन्दै विरोध हुने गरेको छ।
टिटेले ब्राजिलका खेलाडी र त्यहाँको राष्ट्रिय फुटबल संघका अध्यक्ष रोजेरियो कोबाक्लोबीच छलफल चलिरहेको बताएका छन्। ‘हामीले खेलाडीलाई इक्वेडरविरुद्धको खेलमा केन्द्रित हुन भनेका छौँ। उनिहरुलाई हामीले सिधै कोबाक्लोसँग कुरा गर्न भनिरहेका छन्’, टिटेको भनाई छ। ब्राजिल कोरोना महामारीका कारण बढी प्रभावित देशमा पर्छ। प्रतियोगितामा उ साविक विजेता टोलीका रुपमा रहेको छ।
प्रतियोगिताको पहिलो चरणमा ५/५ टोलीका दुई वटा समूह छन्। समूह ‘ए’मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् भने समूह ‘बी’मा ब्राजिल, भेनेजुएला, पेरु, इक्वेडर र कोलम्बिया छन्। समूहका शीर्ष चार टोली नकआउट चरणमा पुग्नेछन्।








प्रतिकृया