• २१ भदौ २०८३, आइतबार
  • ३ः१९ दिउँसो

एसइइ र कक्षा १२ को परीक्षाको विकल्पसहितको प्रतिवेदन मन्त्रालयमा, चाँडै निर्णय हुने

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ११:३९

काठमाडौँ : कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिँदै जाँदा स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा चाँडै नै टुंगोमा पुगिने शिक्षा मन्त्रालयले जनाएको छ।

National Life

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वा मूल्यांकन विधिबारे अध्ययन गर्न गठन गरेको कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन प्राप्त भएको र त्यसमा छलफल गरि निर्णयमा पुगिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल अध्यक्ष रहेको कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन परीक्षा बोर्ड मार्फत आइतबार मन्त्रालयमा प्राप्त भएको प्रवक्ता शर्माले बताए।


उनले भने, ‘कार्यदलको प्रतिवेदन बोर्ड मार्फत मन्त्रालयमा आएको छ। त्यसमा विभिन्न विकल्पहरु सुझाइएको छ। त्यसमाथि छलफल हुनेछ र चाँडै नै उपयुक्त विकल्पबारे निर्णय हुनेछ।’ परीक्षा वा मूल्यांकन विधिको विकल्पबारे मन्त्रालय स्तरमै वा मन्त्रालयबाट मन्त्रीपरिषद्मा पठाएर निर्णय हुन सक्ने प्रवक्ता शर्माले जानकारी दिए।

Classic Tech Desktop

उनका अनुसार परीक्षा नै लिनु पर्ने, पोहोरको जस्तै आन्तरिक मूल्यांकनसहितका विकल्पहरु कार्यदलको प्रतिवेदनमा सुझाइएको छ।
यस्तै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार कार्यदलले अनलाइन मार्फत परीक्षा लिने, गएको वर्षजस्तै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न सकिनेसहितका विकल्पहरुसहित प्रतिवेदन बुझाएको हो।


गएको वर्ष कोरोना भाइरसको महामारीका कारण निर्धारित परीक्षा हुन सकेको थिएन र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। तर आन्तरिक मूल्यांकनको क्रममा केही विद्यालयहरुले ‘बदमासी’ गरेर विद्यार्थीको क्षमता भन्दा बढि मूल्यांकन गरेको आरोप पनि लागेको थियो।


एसइइको जेठ १३ तथा कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा गर्ने तयारी थियो। तर परीक्षा बोर्डले कोरोना भाइरसको महामारीलाई मध्यनजर गरि गएको वैशाख २७ गते एसइइ र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो।

प्रतिकृया