• ४ साउन २०८३, सोमबार
  • ७:०३ बेलुका

भारतीय कम्पनीले बनाउँदै गरेको अरुण तेस्रोको काम रोकियो, मजदूरद्वारा कार्यालयमा ढुंगामुढा

प्रकाशित मिति

२०७८ जेष्ठ २ गते, आईतवार ०९:५५

काठमाडौं : भारतीय निर्माण कम्पनी सतलजले निर्माण गर्दै आएको ९०० मेगावाट क्षमताको अरुण तेस्रोको काम रोकिएको छ । सो परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको हो । आयोजनाको सुरुङभित्र मजदूरको मृत्यु भएपछि मजदूरहरुले काम रोकेका हुन् । उनीहरुले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए ।

बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका हुन्।

Kamana Sewa

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारको आक्रोशपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावपछि मजदूरहरु झनै आक्रोशित भएका हुन् । उनीहरुले श्रमिकको ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए । अन्त्यमा आयोजनाले ३० लाख दिन सहमति जनाएको उनले बताए ।

मृत्यु भएका मजदूरको शव परिवारले जिम्मा लिएपनि विद्युत् गृहको निर्माण कार्य शुरु हुन सकेको छैन । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने भारतीय सतलज जलविद्युत् निगम एसजेभिएन प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए ।

Classic Tech Desktop

नेपाल सरकारले सुरक्षाको प्रत्याभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने नले बताए । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उनको भनाइ छ । धिमानले परियोजना विकास सम्झौता पिडिए० भन्दा बाहिर गएर आफूहरु काम गर्न नसक्ने बताए ।

अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

कूल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम एसजेभिएनले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ ।

विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् ।

प्रतिकृया