• ०९:१७ २०८१ बैशाख ७ गते
  • 9:17 am

बिप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०६:०४

money

काठमाडौं :  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बिप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको जनाएको छ । अमेरिकी डलरमा १३ प्रतिशतले बढेको यस्तो बिप्रेषण चालू आर्थिक वर्षको नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ ।

रेमिट्यान्स गत वर्षको तुलनामा बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ६६.७ प्रतिशतले घटेको छ । त्यस्तै समिक्षा अवधिमा पुन श्रम स्वकृति लिनेको संख्या पनि ५५.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको नौ महिनामा कुल आयात १३.१ प्रतिशत बढ्दै ११ खर्ब ११ अर्ब ४० करोड र निर्यात २०.२ प्रतिशतले बढेर ९७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

 

पछिल्लो नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

 

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो । गत वर्षको अन्त्यसम्ममा १४ खर्ब ०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चालू आर्थिक वर्षको चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २२.५ प्रतिशतले र निक्षेप संकलन १३.७ प्रतिशतले बढेको छ । तरलता व्यवस्थापन तर्फ समिक्षा अवधिमा रिपोर्टमार्फत् १ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिकृया