• २ असोज २०८३, शुक्रबार
  • ११ः४६ बिहान

एसईई परीक्षाको तयारी प्रदेश ५ मा अन्तिम चरणमा

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार १०:५८

८१ हजारले एसईई दिँदै, सबैभन्दा कम विद्यार्थी पूर्व रुकुमबाट

National Life

६ चैतदेखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी प्रदेश ५ मा अन्तिम चरणमा पुगेको छ । १२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्ड र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेका छन् ।

शुक्रबार सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी १७ चैतसम्म हुने एसईई परीक्षालाई व्यवस्थित र मर्या्दित बनाउने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रश्नपत्र परीक्षा बोर्डबाटै आउने र १२ वटै जिल्लामा केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहायक र सुरक्षाकर्मीको व्यवस्थापन प्रदेश सरकारले गरेको बताए । यस वर्ष प्रदेश ५ बाट ८१ हजार ४ सय १ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । ३ सय २१ परीक्षा केन्द्रबाट प्राविधिक नियमिततर्फ २ हजार १ सय ३१, साधारण नियमिततर्फ ७६ हजार ६ सय १८ र ग्रेड वृद्धिका २ हजार ६ सय ५२ गरी सो संख्यामा विद्यार्थी सहभागी हुन लागेको मन्त्री बरालले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, सामुदायिकतर्फ १ हजार ७ विद्यालयका ६० हजार ५ सय ५५ र संस्थागततर्फका ६ सय ६१ विद्यालयका २० हजार ८ सय ४७ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस पटकको एसईई परीक्षामा कुल विद्यार्थीमध्ये ९ जना दृष्टिविहीन छात्रछात्रा, १३ जना बहिरा छात्रछात्रा, २ जना शारीरिक अपाङ्गता भएका छात्रछात्रा गरी २४ जना अपाङ्गता भएका विद्यार्थीहरू सहभागी हुन लागेको मन्त्रालयले जनाएको छ ।

परीक्षामा सबैभन्दा बढी रुपन्देहीबाट १७ हजार ४ सय ३० जना र सबैभन्दा कम पूर्व रुकुमबाट १ हजार ७४ जना विद्यार्थी सहभागी हुँदै छन् । सामाजिक विकास मन्त्रालयले एसईई परीक्षा सञ्चालनका लागि संघीय सरकारबाट ससर्त अनुदानका रूपमा प्राप्त ४ करोड ३९ लाख खर्च लाग्ने अनुमान गरेको छ ।

प्रतिकृया