भारतीय राजदूत क्वात्रा शीर्ष नेतासहित मन्त्रीहरुसँग भेटघाटमा सक्रिय
प्रकाशित मिति
२०७६ फाल्गुन २४ गते, शनिबार ११:४६
काठमाडौं, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक दलका शीर्ष नेतासहित मन्त्रीहरुसँग भेटघाट तिव्र बनाएका छन् । गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका राजदुत क्वात्राले शीर्ष नेता तथा मन्त्रीहरुसँगको भेटघाट तिव्र बनाएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटन उनी शुक्रबार बिहानै कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेका राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्धका विषयमा कुराकानी गरे ।
नेपालका लागि २५औँ राजदूतको रुपमा आएका क्वात्रालाई वरिष्ठ नेता नेपालले कार्यकाल सफलताको शुभकामना दिए । भेटका क्रममा नेपाल र भारतबीचको हित र सम्बन्धको विषयमा कुराकानी भएको नेता नेपालले बताए ।
मृगौलाको दोस्रो पटक प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न क्वात्रा मंगलबार नै अस्पताल पुगेका थिए । उनले ओलीको पहिलो मृगौला प्रत्यारोपण भारतमा गरिएको स्मरण गराउँदै यस पटकको प्रत्यारोपणका लागि आफूहरुको तर्फबाट गर्न सकिने सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेका थिए ।
यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत उनले शुक्रबार भेटेका छन् । देउवासँगको भेटघाटका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध सुमधुर बनाउँदै अगाडी बढने विषयमा कुराकानी भएको छ ।
यस्तै राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका थिए । उपराष्ट्रपतिसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको भारतीय दूतावासले जनाएको छ ।
राजदुत क्वात्राले बिहीबार नै उनले नेकपा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेका छन् । सिंहदरबार स्थित रक्षामन्त्रालयमै पुगेर राजदुत क्वात्राले उपप्रधानमन्त्री पोखरेललाई भेटेका थिए । त्यसलग्तै उनले सिंहदरबारमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरे ।






प्रतिकृया