हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिलाउलान त सांसद बस्नेतले ?
प्रकाशित मिति
२०७६ माघ १२ गते, आईतवार १०:०३
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मध्यपुरथिमिको राधे राधे स्थित ईजी ट्रायल सेन्टरमा आयोजना गरिएको हनुमन्ते सफाई अभियानको १०० हप्ता तथा अरनिको राजमार्गमा सुरु भएको सोलार बत्ति जडान, हरियाली प्रर्बद्धनका कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांसद बस्नेतले मुलुकभर विभिन्न बहानामा गरिने विकास विरोधीको हिसाव–किताब हुने उल्लेख गर्दै विकास विरोधीलाई जनताले गाउँ गाउँबाट लखेट्ने चेतावनी दिनुभएको छ।

भक्तपुरको विकास देश कै पूर्वी नेपालसँग जोडिएको चर्चा गर्दै उहाँले भक्तपुरमा आएको विकास रोक्न खोज्नेलाई जनता आफैले लखेट्छन् भन्दै जनप्रतिनिधी समेत विकास रोक्न लागेकोले तिनलाई जनताले हिसाब राख्ने बताउनुभयो ।
हनुमन्ते करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने बताउँदै करिडोरको विरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ दिने चेतावनी दिँदै उहाँले देश मै नमूना बनेको हनुमन्ते सफाई अभियानलाई अब नयाँ मोडलमा अगाडि बढाई चारवटै नगरपालिकाले संचालन गर्ने गरि अगाडि बढाईने बताउनुभयो ।

हनुमन्ते सफाई अभियानका अगुवाईकर्ता समेत रहनु भएका सांसद बस्नेतले हनुमन्ते वा सडक जहाँ काही फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशासन र प्रहरीले कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिदै फोहोर गर्नुपनि सामाजिक अपराध भएकाले सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजायँ दिनुपर्ने बताउदै हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको चर्चा गर्नुभयो ।
यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धि अब धेरै टाढा नभएको बताउँदै वर्तमान सरकारले मुलुक समृद्ध बनाउने अभिभारा पूरा गर्ने बताउनुभएको छ ।
उहाँले संघीयताको अभ्यास भईरहेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नु पर्ने औल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसँगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अभियानका संयोजक सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहोर गर्नेलाई नगरपालिकाले जरिवाना सहित कारबाही गरिने बताउनुभयो । कार्यक्रममा अभियानमा निरन्तर सहभागि रहने अभियन्ताहरु, संघसंस्थाहरु र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
अभियानमा ९५ हजार जना भन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहोर संकलन भएको जानकारी दिइयो।




प्रतिकृया