पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन पठाइदै
प्रकाशित मिति
२०७६ पुष २३ गते, बुधबार १०:१९
काठमाडौं , ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय बाइस जना चिनियाँ नागरिकलाई आज चिन पठाउने तयारी छ । अध्यागमन विभागले चिनियाँ दूतावासको समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन आज अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् ।
अनुसन्धानका लागि दुई साता हिरासतमा राखिएका ती चिनियाँविरुद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको मुद्दामा दोषी ठहर गर्दै आइतबार जनही एक हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।

उनीहरू कामदारका रूपमा छनोट भएको तर पर्यटक भिसामा नेपाल प्रवेश गरेको पाइएको छ । प्रहरीका अनुसार एक सयभन्दा बढी चिनियाँलाई नेपाल ल्याउने मुख्य एजेन्ट चीनकै रहेको खुलेको छ ।

नेपालमा कम्पनी खोलेको देखाएर त्यो एजेन्टले गुगल जस्तै चीनमा चल्ने बैदुमा कामदार माग गरेका थिए । त्यही विज्ञापन देखेर कामदारको रुपमा चिनियाँहरु नेपाल आएको खुलेको छ ।
पक्राउ परेका सबै चिनियाँ नागरिकले पर्यटक भिसामा नेपाल आइ घर नै भाडामा लिएर काम गरेकाले उनीहरुमाथि अध्यागमन ऐन अनुसार पनि कार्वाही हुन्छ । अध्यागमन ऐनमा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
पक्राउ परेकामध्ये ९७ जनाको राहदानी नै छैन । सबैलाई अध्यागमन ऐन अनुसार जरिवाना तिराएर फिर्ता पठाउन अध्यागमन विमागले चिनियाँ दूतावासबाट ट्राभल डकुमेन्ट मगाएको छ । तर उनीहरुको साथबाट बरामद सामान भने थप अनुसन्धानका लागि राखिने छ । नेपालमा बसेर चीनमा आर्थिक अपराधको गिरोह नै चलाउन आएका चिनियाँको अपराधको शैली प्रहरीले पत्ता लगाउन सकेको छैन ।




प्रतिकृया