१२ जनामा डेंगुको संक्रमण भेटिए पछि जिल्लाभर नियन्त्रण अभियान शुरू
प्रकाशित मिति
२०७६ भाद्र १७ गते, मंगलवार १०:०९
भक्तपुर, १२ जनामा डेंगुको संक्रमण भेटिए पछि भक्तपुर जिल्लाभर रोग नियन्त्रण तथा रोकथाम अभियान शुरू गरिएको छ । आजबाट शुरू गरिएको उक्त अभियान अन्तर्गत जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेंगुका बारेमा गम्भीर छलफल गरेको छ ।
जिल्लामा आजै देखि द्रुत प्रतिकार्य समुहको बैठक बसी रोकथाम गर्ने अभियान सुरु गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । प्रजिअ भट्टले जिल्लामा रोग रोकथाम गर्ने अभियान सुरु गरिएको बताउँदै जिल्लाभर यो अभियान शुरू गरेको बताउनुभयो ।

जिल्लाका चारवटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान गर्न एक समन्वय समिति बनाईएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले अभियान अन्तर्गत सुर्यबिनायक नगरपालिका भित्रका जनप्रतिनिधि,पत्रकार ,स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख बासुदेब थापाले डेंगु रोग नियन्त्रणका लागि प्रयास जारी रहेको बताउनुभयो । डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै प्रमुख थापाले डेंगु रोग नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि ,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायतको टोलीले डेंगु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताउनुभयो ।
त्यसैगरी नगरपालिका स्वास्थ्य इकाइ संयोजक बसन्त चापागाईंले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख चक्रराज जोशी,नगरपालिकाका सामाजिक शाखा प्रमुख किरण थापा लगायतले रोग नियन्त्रणका लागि सचेतना बढाउन सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।




प्रतिकृया