शैक्षिक प्रमाणपत्र बोकेर नेताको घर धाउने दिनको अन्त्य गर्नु पर्ने सांसद बस्नेतको भनाई
प्रकाशित मिति
२०७६ श्रावण १८ गते, शनिबार ०७:१२
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा शैक्षिक प्रमाणपत्र बोकेर ठूला ठूला मान्छे तथा नेताको घरमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यार्थीलाई सिपमूलक तथा प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सूर्य्विनायक नगरपालिका वडा नं. ५ स्थित कटुञ्जे आधारभुत विद्यालयको भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भुकम्प पछि भक्तपुरबाट पुननिर्माणका सवालमा देशभर सिक्नु पर्ने प्रकारले काम भएको बताउँदै उहाँले स्थानीय तहको तदारुकता नै भक्तपुरको सूर्य्विनायक नगरपालिकाको शिक्षा क्षेत्रमा ठूलो उपलब्धी हासिल गरेको बताउनुभयो ।
उहाले भक्तपुरमा विकासको लहर आएको बताउँदै ढल तथा खानेपानीको समस्या समाधान हुने विश्वास दिलाउनुभयो । उहाँले प्राणी उद्यान केन्द्र, विभिन्न प्रकारका पार्कलगायतका बन्ने प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो । एसइइ परिक्षामा भक्तपुरले उल्लेख्य मात्रामा प्रगति हासिल गर्न सफल भएको बताउँदै उहाँले अबका दिनमा शिक्षा आफै स्वरोजगार बन्नुपर्ने प्रकारको हुनुपर्ने साथै विद्यालयले प्राविधि शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले अब विद्यालयहरुले सीपमा आधारित शिक्षा दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा भूकम्प प्राधिकरण शिक्षा तर्फका भक्तपुर प्रमुख डिल्लीश्वर प्रधान, सूनपा ५ का वडा अध्यक्ष राजकुमार जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापा लगायतले सूर्य्विनायकलाई शिक्षामा भौतिक र गुणस्तरीय क्षेत्रबाट उत्कृष्ट बनाउनु पर्नेमा जोड दिनुभयो ।








प्रतिकृया