• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन निःशुल्क दिवा खाजा

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०४:४४

बेझाड, पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् ।

बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । “सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजा कार्यक्रम ल्याएका हौँ, विद्यालयमै आर्गानिक खाजा पकाएर खुवाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

Kamana Sewa

दिवा खाजा कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विद्यालयमै बनाएर खाजा खुवाउने गरिएको छ । हप्तामा शुक्रबारबाहेक पाँचै दिन फरकफरक खालको खाजा विद्यालयमा नै बनाएर खुवाउने गरेको रम्भा माविका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताउनुभयो ।“विद्यालयका सहयोगी, शिक्षक मिलेर खिर, सुजी, फलफूल, चना भुजा, अण्डा बनाएर खुवाउने गरेका छौँ, दिवा खाजाले विद्यार्थीमा राम्रो प्रभाव पारेको छ”, उहाँले भन्नुभयो ।

Classic Tech Desktop

यस विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म २७ जना विद्यार्थी छन् । दिवा खाजाको प्रभावले नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् । चण्डेश्वरी माविमा भने अभिभावकले नै पालैपालो खाजा बनाएर खुवाउने व्यवस्था गरेको छ । पालो पालो गरी अभिभावकले विद्यालयमा गएर खाजा बनाउने र विद्यार्थीलाई खुवाउने गरेको अभिभावक खुमीसरा कामुले बताउनुभयो ।  “आइतबारदेखि बिहीबारसम्मको खाजा के खुवाउने भनेर दैनिक कार्यतालिका र अभिभावकको पालो विद्यालयले बनाइदिएको छ, सोहीअनुसार गएर समूहमा पकाएर विद्यार्थीलाई खुवाउने गरिएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्रका ३७ सामुदायिक विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि छन् । एउटा विद्यालय कक्षा ६ बाट सञ्चालन भएकाले ती वाहेक ३६ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।  जङ्कफुडको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएका छन् । बजारमा आएका जङ्कफुडका कारण बालबालिकाले कोदो/फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेका छन् । यो कार्यक्रमले जङ्कफुडको प्रयोग कम गर्नमा सघाउ पुग्नेछ ।

गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मारु १५ लाख वजेट विनियोजन गरेको छ । गत वर्ष रु १२ लाख वजेट विनियोजन गरेको थियो ।
शरीरका लागि आवश्यकपर्ने पौष्टिक तत्व भिटामिन, मिनरल, फाइबर आदि नगन्यमात्रामा हुने जङ्कफुड अस्वस्थकर हुने भएकाले गाउँपालिकाले बालबालिकालाई यसबाट टाढा राख्न दिवा खाज कार्यक्रम ल्याएको बताइएको छ । यसैगरी गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि रु १० हजारसम्म निःशुल्क दुर्घटना बीमा कार्यक्रम पनि ल्याएको छ । यसका लागि यो वर्ष साढे दुई लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी रु १०० दर्ता रकम उठाइएको छ । विसं २०७७ को असार मसान्तभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न रु छ लाख, शून्य होमडेलभरी घोषणातर्फ रु १० लाख, बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न शीर्षकमा करीब रु १५ लाख, पोषणयुक्त कार्यक्रममा रु तीन लाख रकम विनियोजन गरिएको छ । टुकीरहित उज्यालो गाउँपालिकाका लागि रु १५ लाख, खरको छानोमुक्त गाउँपालिकाका लागि रु ७० लाख बजेट विनियोजन गरिएको सो गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया