प्रहरीद्वारा भक्तपुरमा सवारी साधनको अत्याधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण
प्रकाशित मिति
२०७६ जेष्ठ २८ गते, मंगलवार ०४:१४
भक्तपुर । महानगरीय प्रहरी परिषर भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडिबुटी मनोहरा पुलसम्म प्रत्येक सवारी साधनको अत्याधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलबारदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारबाही गरिने बताउनुभयो ।

दूर्घटना न्यूनीकरणका लागि जडिबुटी मनोहरा पुलदेखि मध्यपुरथिमि, सूर्य्विनायक, जगाती, पलाँसे हुँदै काँभ्रे र भक्तपुरको सीमाना साँगासम्मका लागि गति निर्धारण गरेको हो ।

प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरि मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उहाँको भनाइ छ ।
सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उहाँले बताउनुभयो । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडारगन र एक लेजरगन ल्याएर परीक्षण समेत गरिसकेको बताउदै उहाँले यो सडक खण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताउनुभयो ।
यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइका साथ लागू गरिने बताउनुभयो ।
नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमति पत्र, रुट परमिट रद्ध गर्नेदेखि यातायात संचालन अनुमति पत्र समेत रद्ध गर्न सकिने गरि कारबाही गरिने प्रधानले बताउनुभयो ।




प्रतिकृया