• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

बाराको विद्युत प्राधिकरण कार्यालयमा झडप, ३ घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०८:०९

बारा । बाराको कलैया स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयमा सोमबार प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन ।

झडपका क्रममा विद्युत प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएको र उनीहरुको टाउकोमा ठुलो चोट लागेको हो ।

Kamana Sewa

घाईते हुनेहरुमा कलैया उपमहानगरपालिका–९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) रहेका छन् । राम बिहारीको टाउको नै फुटेको छ । उनीहरुको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

Classic Tech Desktop

विद्युत् प्राधिकरणको लापरवाहीका कारण सोमबार हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत् प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए ।

विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताउनुभयो।

करिब ४०र५० जनाको संख्यामा पुगेका स्थानीयबासीन्दाले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीहरु माथि आक्रमण गरेका हुन् ।

बिहान साढे ११ बजेदेखि प्राधिकरणको मुल गेट नै बन्द गरेर धर्नामा बसिरहेका प्रदर्शनकारी माथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीहरुले आक्रमण गरेको सानु मिया अन्सारीले बताउनुभयो ।

तर विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भीडले कर्मचारीमाथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीहरुले प्रतिकार गरेको बताउनुभयो । प्रदर्शनकारीहरुको आक्रमणबाट आफूसहित दुई जना कर्मचारी सामान्य घाइते भएको उहाले बताउनुभयो ।

प्रहरीले तीनजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयामा रहेको विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको थियो ।

प्रतिकृया