वर्तमान समयमा कृषी पेशा नै अपरिहार्य : प्रमुख बाशुदेब थापा
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार ०९:४७
भक्तपुर ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजना, साना किसान सहकारी संस्थाको सम्झौतामा नगरपालिका सँग भए अनुसार हाइटेक ग्रिनहाउससँगको सहकार्यमा व्यवसायीक कृषकहरुको लागि फूलको वेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाले स्थानीय किसानलाई ६० हजार सयपत्री फूलको बेर्ना उत्पादन गरी वितरण गरेको छ । नगरक्षेत्रमा व्यावसायिक पुष्पखेती प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको चार लाख रूपियाँ अनुदानबाट गुण्डू साना किसान सहकारी संस्थाले उत्पादन गरेको फूलको बेर्ना मंगलवार स्थानीय किसानलाई वितरण गरिएको हो ।



उक्त कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाको सूर्य्विनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले सून र हिरा खाएर नहुने बताउँदै वर्तमान समयमा कृषी पेशा नै अपरिहार्य भएको बताउनुभयो ।
भक्तपुर जिल्लाको सूर्य्विनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले आफु निर्वा्चित भए पछि जनताको साथ र सहयोग हरपल हरक्षण पाएको बताउँदै आगामी दिनमा विकास र समृद्धिको कार्यमा नथाक्ने बताउनुभएको छ ।
प्रमुख थापाले कृषीमा आधुनीकिकरण गरी रोजगारी, आत्मनिर्भर बनाई युवाहरुलाई विदेशमा पालयन हुनबाट रोक्नु पर्नेमा जोड दिँदै आगामी वर्ष नगरपालिकाले कृषिमा विशेष बजेटको व्यवस्था गर्ने बताउनुभयो । उहाँले विगतको वर्षमा फूल खेतीको लागि ४ लाख बजेटको व्यवस्था गरेको र त्यसबाट उत्कृष्ट नतिजा प्राप्त भएकाले आगामी वर्ष ८ लाखको व्यवस्था गर्ने समेत घोषणा गर्नुभयो । गत वर्ष पनि नगरपालिकाले व्यावसायिक किसानलाई फूलको बेर्ना उत्पादन गरी वितरण गरिएको र स्थानीय किसानले प्रति फूलको बोटबाट एक हजार रूपियाँसम्म फाइदा लिएका थिए ।

जनताको मागलाई सम्बोधन गर्न सूनपा अब्बल रहेको भन्दै प्रमुख थापाले सडक, ढल, खानेपानी, भौतिक संरचना निर्माण तथा विस्तार वादविदाद रहित तिव्र गतिका साथ अघि बढेको बताउनुभयो ।
कार्यक्रममा सूनपाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले कृषकको पसिनाले उचित मोल पाउनुपर्ने बताउँदै कृषि, पर्यटन, शिक्षा र पूर्वाधार सूनपा समृद्धिको आधार भएको बताउनुभयो । उहाँले आगामी नगरपालिकाको बजेत, नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिने समेत बताउनुभयो ।
कार्यक्रममा सूनपा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आर्थिक उन्नती, रोजगारी, आत्मनिर्भर, महिला शसक्तिकरण, व्यवसायीक बनाउन फूल खेती महत्वपूर्ण भएको बताउनुभयो । वडाध्यक्ष सापकोटाले किसानले उत्पादन गरेको फूल सिधै उपभोक्ताको हातमा पुग्ने गरी बजारको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले विकास निर्माणसँगै किसानको आर्थिक रूपान्तरणका लागि फूलको बेर्ना उत्पादन गरी वितरण गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
४५० जनालाई वितरण गरिएको उक्त फूलको विरुवामा कम्तिमा ५० वटा र बढीमा ४०० वटा निशुल्क वितरण गरिएको कार्यक्रममा कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिज लागेजु, राष्ट्रिय कृषक महासंघ भक्तपुरका अध्यक्ष टेकबहादुर लागेजुले, राष्ट्रिय किसान महासंघका केन्द्रीय सदस्य अनिता बस्नेत लगायत ले किसानले उत्पादन गरेको फूलको उचित मूल्य पाउनुपर्ने बताउदै सबैमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
जेठमा रोपेको फूलको बेर्ना तीन महिनाभित्र फूल्नेछ । गत वर्ष प्रतिबोट कम्तिमा एक हजार रूपियाँसम्म आम्दानी भएको यस वर्ष पनि सोही अनुसारको आम्दानी हुने स्थानीय किसानको अपेक्षा रहेको छ।





प्रतिकृया