दिलिपलाई किचेर मार्नेे टिपरका सहचालक पक्राउ
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ११:३७

जनकपुर । नदीको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीपकुमार महतो हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।धनुषाको गणेशमान चारनाथ नगरपालिका २ घर भएका उनलाई लुकिछिपी बसिरहेको अवस्थामा बिहीबार ढल्केबारबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।
गाउँछेउका नदीमा भइरहेको गिटी-बालुवाको अवैध उत्खननको विरोध गर्ने क्रममा दिलीपलाई किच्न प्रयोग गरिएको ना ७ ख ६४१३ नम्बरको टिपरका सहचालक १९ वर्षीय सत्यनारायण महतोलाई प्रहरीले पक्राउ गरेको हो।

हत्याको दुईदिन भित्रै धनुषा प्रहरीले स्थानीय चुरियामाई प्रशोधन केन्द्र क्रसर उद्योगका संचालक विपीन महतो, हत्या टिपरका चालक मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र दिलीपसंगै अवैध उत्खनन रोक्न गएका स्थानीय रोशन कुमार यादवलाई पक्राउ गरेर सर्वाजनिक गरी कारबाही प्रक्रिया अघि बढाइसकेको छ । दिलीपका परिवारले ७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।
गएको पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीपको हत्या भएको थियो । दिलीपलाई पहिले रडले प्रहार गरी घाइते बनाएर ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर निर्मम हत्या भएको थियो ।



प्रतिकृया