उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार ०९:५६
मध्यपुर थिमि, भक्तपुर। शिक्षासँगै गुणस्तरीय, सीपमूलक तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको मध्यपुर थिमि, भक्तपुरस्थित विनायक शिक्षा निकेतनले १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गर्न सफल भएको छ।
नेपाल विज्ञान ओलम्पियाड (NESO) द्वारा २०८३ असोज १ गते काठमाडौँस्थित रसियन कल्चर सेन्टरमा आयोजित उक्त विज्ञान प्रदर्शनीमा काठमाडौँ उपत्यकाका १६ वटा विद्यालयलाई पछि पार्दै विनायक शिक्षा निकेतनले प्रथम स्थान हासिल गरेको हो।
प्रदर्शनीमा विनायकका विद्यार्थीहरूले समसामयिक विषय बाढीपहिरोको रोकथाम तथा विपद्बाट बच्ने उपायहरू सम्बन्धी विज्ञानमा आधारित परियोजना प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले वैज्ञानिक सोच, सिर्जनात्मकता र व्यावहारिक ज्ञानको संयोजन गर्दै तयार पारेको उक्त परियोजनाले निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भएको थियो।
यस उपलब्धिले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानमूलक सिकाइ, समस्या समाधान गर्ने क्षमता तथा वातावरणीय र सामाजिक समस्याप्रति जिम्मेवार बन्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
विज्ञान तथा प्रविधिमार्फत व्यावहारिक ज्ञान र सीप विकास गर्ने विद्यालयको शैक्षिक प्रयासलाई यस सफलताले थप प्रोत्साहन गरेको छ।







प्रतिकृया