यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ श्रावण ७ गते, बिहीबार ०९:२५
७ साउन २०८३ काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी, बागमती र कर्णालीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र डुबान हुन सक्ने स्थानका बासिन्दालाई विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।




प्रतिकृया