• २१ भदौ २०८३, आइतबार
  • २ः४७ दिउँसो

विद्युत् निर्यातमा नेपालको ऐतिहासिक सफलता, एक वर्षमै २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०९:४२

७ साउन २०८३ काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को सीमापार विद्युत् व्यापारको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको देखाएको छ। भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात उल्लेख्य रूपमा बढेसँगै नेपालले एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।

National Life

प्राधिकरणका अनुसार समीक्षा वर्ष २०८२/०८३ मा ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.८९ प्रतिशत बढी हो। यसबाट प्राप्त आम्दानी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यातबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। समीक्षा वर्षमा भारतको विद्युत् बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रति युनिट ७ रुपैयाँ ५६ पैसाका दरले विद्युत् बिक्री गरिएको थियो।

विद्युत् निर्यात बढेसँगै विदेशबाट हुने आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। समीक्षा वर्षमा आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित रहँदा कुल आयात खर्च पनि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो।

Classic Tech Desktop

निर्यातबाट प्राप्त आम्दानीबाट आयात खर्च कटाउँदा समीक्षा वर्ष २०८२/०८३ मा नेपालले विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा एक वर्षमै ३१३ प्रतिशतले वृद्धि भएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्वदेशमा जलविद्युत् उत्पादन बढ्नु, सीमापार प्रसारण लाइन विस्तार हुनु, ऊर्जा व्यवस्थापन प्रभावकारी बन्नु र बङ्गलादेशसम्म विद्युत् निर्यात सुरु हुनुका कारण नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्दै गएको छ। यस उपलब्धिले नेपाल दक्षिण एसियामा नाफामूलक विद्युत् निर्यात गर्ने मुलुकका रूपमा स्थापित हुँदै गएको संकेतसमेत दिएको छ।

प्रतिकृया