ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ? : संसद्मा हर्कराज राईको सरकारलाई प्रश्न
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ०१:५१
२४ असार २०८३ काठमाडौं – नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्दै दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखिएको तर मन्त्रीले सार्वजनिक रूपमा निर्माण व्यवसायीको खुट्टा भाँचिदिने धम्की दिँदा र सांसदले प्रहरीलाई सडकमा घिसार्ने अभिव्यक्ति दिँदा कुनै कारबाही नभएको भन्दै प्रश्न उठाए।
‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?,’ राईले भने।

उनले नागरिकलाई गल्ती सच्याउने अवसर दिनुपर्ने तर राज्यले प्रतिशोधको भावनाले कारबाही गर्न नहुने धारणा राखे। राईले सरकारको कार्यशैलीका कारण मुलुकमा लोकतन्त्र कमजोर बन्दै अराजकता मौलाउन थालेको दाबी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सरकारको दोहोरो मापदण्डप्रति पनि आपत्ति जनाए।

उनले लोकतन्त्रमा कानुन र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै एक पक्षलाई मात्र कानुन लागू गरिने प्रवृत्तिले अराजकता निम्त्याउने चेतावनी दिए। ‘जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ। अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ,’ उनले भने।
सांसद राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिन सभामुखमार्फत रुलिङ गर्न पनि माग गरे। यसैबीच, उनले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधेर राखिएको घटनाप्रति पनि गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै यस्ता संवेदनशील विषयमा सरकारले गम्भीर बन्नुपर्ने बताए।
‘मान्छेलाई थुनेको त देखिएको थियो, तर शान्तिका अग्रदूत बुद्धको मूर्तिलाई नै थुनेर राख्नुपर्ने कारण के हो ? यस्ता विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने।




प्रतिकृया