राहदानी विभागका नियमित सेवा दुई दिन बन्द, तयार राहदानी भने वितरण हुने
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार १२:१३
२४ असार २०८३ काठमाडौं – राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवा स्थगित गर्ने भएको छ। विभागले बुधबार सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिको कामका कारण दुई दिन नियमित सेवा बन्द रहने जनाएको हो।
यद्यपि, विभागमा तयार भइसकेका राहदानी वितरणको सेवा भने यथावत् सञ्चालन हुने विभागले स्पष्ट गरेको छ। मोबाइलमा राहदानी सङ्कलनका लागि सूचना प्राप्त गरिसकेका सेवाग्राहीलाई विभागमा उपस्थित भई राहदानी बुझ्न आग्रह गरिएको छ।

विभागका अनुसार आगामी असार २९ गतेदेखि हालको प्रणालीलाई प्रतिस्थापन गर्दै नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विश्वास विभागले व्यक्त गरेको छ।

यसअघि नै असार १९ गते जारी सूचनामार्फत विभागले सेवा अस्थायी रूपमा प्रभावित हुने जानकारी गराइसकेको थियो।




प्रतिकृया