• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

असन्तुष्टिको समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव : ओली

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार १०:३१

 १५ जेठ २०८३ काठमाडौं – केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गरेका छन् । उनले त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने भए पनि त्यस्ता असन्तुष्टिको समाधान लोकतान्त्रिक र गणतान्त्रिक प्रक्रियाबाट मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।

उनले भनेका छन्, “चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन् ।”

Kamana Sewa

ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता समाजले जीवन भोगाइको क्रममा विस्तारै बुझ्ने उल्लेख गर्दै गणतन्त्र नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् ।

Classic Tech Desktop

उनले १८ वर्षअघि जनताबाट निर्वाचित संविधानसभाले गणतन्त्र घोषणा गरेको स्मरण गर्दै बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकारका लागि हजारौं अग्रजहरूले बलिदान दिएको बताएका छन् ।

ओलीका अनुसार जनताको संघर्षपछि हुकुमी शासन अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको हो । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक संस्था र संरचनाबाट सञ्चालन हुने पद्धति स्थापित भएको उनको भनाइ छ ।

उनले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक तथा भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन् । गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल सेवामा पहुँच विस्तार भएको तथा सडक र सञ्चार पूर्वाधारमा विकास भएको विषयलाई उनले गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले जनताको निराशाको फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति चेतावनी दिँदै संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा गर्नु नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतान्त्रिक व्यवस्था कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रतिकृया