• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सिपाडोल स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ११:४७

वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले वागमति प्रदेशका १३ वटै जिल्लामा रहेका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्म विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सिपाडोल स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापामगरले आधारभूत सेवासँगै विशेषज्ञ सेवा पनि स्वास्थ्य चौकीमै उपलब्ध गराउने योजना अघि बढाइएको जानकारी दिए।

उनले नागरिकको स्वास्थ्यलाई सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै दुर्गम क्षेत्रसम्म प्रविधिसहित विशेषज्ञ सेवा विस्तार गरिने बताए। “सुगम मात्र होइन, दुर्गम जिल्लामा पनि गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने दिशामा मन्त्रालयले काम गरिरहेको छ,” उनले भने।

Kamana Sewa

मन्त्री थापामगरका अनुसार उक्त स्वास्थ्य चौकी भवन निर्माणका लागि गत वर्ष १८ लाख र चालु वर्ष २५ लाख गरी कुल ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। प्रदेश सरकारले स्वास्थ्य संस्थाको भवन निर्माण, स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा निःशुल्क औषधि वितरणलाई प्रभावकारी बनाउँदै आएको उनले बताए।

Classic Tech Desktop

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै स्वास्थ्य केन्द्रित बजेट विस्तार गरिएको बताए। उनले सिपाडोल स्वास्थ्य चौकी निर्माणका लागि नगरपालिकाले १० लाख रुपैयाँ अनुदान प्रदान गरेको जानकारी दिए।

नगरपालिकाकी उप–प्रमुख सरिता तिमिल्सिना भट्टराईले स्थानीयले अब सस्तो, छिटो र सहज स्वास्थ्य सेवा पाउने बताउँदै महिलामा देखिने पाठेघरको क्यान्सर तथा स्त्रीरोगसम्बन्धी परीक्षण निःशुल्क गरिने घोषणा गरिन्।

वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएको अवस्थामा नयाँ भवन निर्माणपछि सेवा प्रवाह अझ प्रभावकारी भएको बताए। कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष रविन्द्र सापकोटा, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्का, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

प्रतिकृया