जेठ १ देखि देशभर अनलाइन धितो बन्धकी अनिवार्य
प्रकाशित मिति
२०८३ बैशाख १७ गते, बिहीबार ११:२५
१७ बैशाख २०८३ काठमाडौं- भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूमा धितो रोक्का तथा फुकुवा सम्बन्धी सेवा पूर्णतः डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध तथा ‘डिजिटल नेपाल’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित सेवा प्रवाहलाई छिटो, सहज र बिचौलियामुक्त बनाउन यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो बन्धकीसम्बन्धी सम्पूर्ण कार्य ‘फेसलेस’ प्रणालीमार्फत समयबद्ध रूपमा अनलाइनबाटै सञ्चालन गर्नुपर्नेछ। विभागले जारी गरेको परिपत्रमा यसलाई दुई चरणमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका तथा भू–सेवा केन्द्रको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि बुधबारदेखि नै अनलाइन प्रणाली अनिवार्य गरिएको छ। त्यस्तै अनुमति नलिएका वा प्रक्रियामा रहेका संस्थाहरूलाई आवश्यक तयारी पूरा गरी २०८१ साल जेठ १ गतेदेखि अनिवार्य रूपमा डिजिटल प्रणालीमा जान निर्देशन दिइएको छ।

यो व्यवस्था ‘पाम प्रणाली’ लागू भएका देशभरका सबै मालपोत कार्यालयहरूमा कार्यान्वयन हुने विभागले स्पष्ट पारेको छ।
डिजिटल प्रणाली लागू भएसँगै सेवाग्राहीले मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने, सेवा प्रवाहमा पारदर्शिता बढ्ने र सुशासन प्रवर्द्धन हुने विश्वास गरिएको छ। विभागका अनुसार यस कदमले मालपोत प्रशासनलाई थप आधुनिक, प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।




प्रतिकृया