पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
प्रकाशित मिति
२०८२ माघ ७ गते, बुधबार ०७:४१
७ माघ,२०८२ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि विशेष अदालतले बुधबार मिश्राविरुद्ध धरौटी माग्ने आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा मिश्रालाई कसुरदार देखिँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले तोकेको धरौटी बुझाएपछि मिश्रालाई बुधबार नै रिहा गरिएको छ। उनी बुधबार बिहान अदालतमा उपस्थित भएकी थिइन्।

अख्तियारले १ कात्तिक २०८२ मा मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अभियुक्तहरूमाथि जनही सोही रकम बराबरको बिगो कायम गरिएको छ। उनीहरूमाथि स्वास्थ्य उपकरण खरिदलगायतका प्रकरणमा अनियमितता गरेको आरोप छ।

मिश्रा पछिल्लो समय सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी थिइन्। सोही कारण उनले अतिरिक्त सचिव पदबाट राजीनामा समेत दिएकी थिइन्। तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुल्न आएपछि अन्तिम समयमा उनको मन्त्री नियुक्ति रोकिएको थियो।




प्रतिकृया