मनोनयनपछि सम्हालियो नेपाली कांग्रेस, चुनावअघि किचलो साम्य
प्रकाशित मिति
२०८२ माघ ७ गते, बुधबार ०९:३५
७ माघ,२०८२ काठमाडौं – चुनावको मुखैमा विभाजनको संघारमा पुगेको नेपाली कांग्रेस फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता सकिँदासम्म आइपुग्दा सम्हालिएको र तुलनात्मक रूपमा राम्रो अवस्थामा पुगेको देखिएको छ। तत्कालका लागि कांग्रेसभित्रको आन्तरिक किचलो साम्य भएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले प्रारम्भिक चरणमै आफ्नो प्रभाव देखाएको छ। तत्कालीन सभापति शेरबहादुर देउवा दम्पतीलाई टिकट नदिने निर्णयदेखि लिएर पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, धनराज गुरुङ, रमेश लेखक र बालकृष्ण खाँणजस्ता नेताहरू चुनावी प्रतिस्पर्धामा नउत्रिनु वा पार्टीबाट टिकट नपाउनु—दुवै पक्षलाई समेट्ने अवस्था बनेको छ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरे पनि आफ्नै क्षेत्रमा भाइलाई उम्मेदवार बनाएको विषय चर्चामा छ। यस्तै, शेरबहादुर देउवाले आफूलाई टिकट नदिइएपछि डडेल्धुराबाट नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ। कारण जे भए पनि यी नेताहरू यस पटक प्रत्यक्ष रूपमा उम्मेदवार बनेका छैनन्।

गगन थापा नेतृत्वको समितिको यो पहिलो सफलताका रूपमा हेरिएको छ। उम्मेदवार छनोटमा कांग्रेसले नयाँ, युवा र अनुभवीको सन्तुलित मिश्रण प्रस्तुत गरेको देखिन्छ। यसले निर्वाचनमा कति प्रभाव पार्छ भन्ने कुरा नतिजापछि मात्र स्पष्ट हुने भए पनि तत्कालका लागि कांग्रेसले सुझबुझका साथ उम्मेदवार चयन गरेको आकलन गरिएको छ। यद्यपि, गगन थापा निकट धेरैले टिकट पाएको भन्दै पार्टी वृत्तमा चर्चा र आलोचना पनि भइरहेको छ।
विशेष महाधिवेशनमा सक्रिय भूमिका खेलेका तथा गगनलाई समर्थन गरेका मनोजमणि आचार्य र प्रतिमा गौतमजस्ता नेताहरूलाई नजरअन्दाज गरिएको आरोप पनि लागेको छ। तर अघिल्ला निर्वाचनको तुलनामा यस पटक कांग्रेसले बढी सन्तुलन कायम गर्दै नयाँ अनुहारलाई मैदानमा उतारेर परिवर्तनको सन्देश दिन खोजेको देखिन्छ।
यस पटक अघिल्लो चुनावमा देउवाले टिकट नदिएका मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइनु र विवादित तथा आमरूपमा आलोचित व्यक्तिलाई टिकट नदिनुले कांग्रेस परिवर्तनको दिशामा अघि बढ्न खोजेको संकेत दिएको विश्लेषण गरिएको छ।
अर्को महत्वपूर्ण पक्ष भनेको कांग्रेसका नेता–कार्यकर्ताले देशभरका सबै निर्वाचन क्षेत्रमा पार्टीको चुनाव चिन्ह ‘रुख’मा मत हाल्न पाउने अवस्था बन्नु हो। गठबन्धन नगर्ने निर्णयपछि कांग्रेसभित्र सकारात्मक ऊर्जा देखिएको छ, जसको प्रभाव अन्य दलमा पनि परेको बताइन्छ। धेरै समयपछि प्रमुख दलहरू बिना गठबन्धन चुनावमा होमिनुका पछाडि गगन थापा र विश्वप्रकाश शर्माको भूमिकालाई विशेष रूपमा श्रेय दिइएको छ।




प्रतिकृया