• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

वन अधिकृतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०१:३६

कात्तिक  १७, २०८२ काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरस्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेका कारण सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

National Life

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा जनाएको छ कि, श्रेष्ठले सार्वजनिक पदमा रही पदीय अख्तियार दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो।

अनुसन्धानअनुसार, श्रेष्ठको २०४८ असार २६ गतेदेखि २०८० फागुन १६ गतेसम्मको सेवा अवधिमा उनको र परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ रहे पनि कुल खर्च र लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ पुगेको पाइएको छ। यसरी आयभन्दा खर्च १ करोड ४३ लाखभन्दा बढी भएको र त्यसको स्रोत पुष्टि हुन नसकेकाले गैरकानूनी सम्पत्ति आर्जन ठहर गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरकै कैद र जरिवाना सजाय माग गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि माग गरिएको छ।

श्रेष्ठले राष्ट्रसेवक पदमा रहँदा सम्पत्ति विवरण लुकाएको र झुठ्ठा विवरण पेस गरेको पाइएकोले सो कसूरमा पनि थप सजायको माग गरिएको छ। आयोगका अनुसार श्रेष्ठले आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल तथा उनीहरू सञ्चालक रहेको ‘फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’ को नाममा लुकाएको पाइएको छ।

उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र सो कम्पनीलाई समेत प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया