• २१ जेठ २०८३, बिहीबार
  • १:४० बेलुका

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

प्रकाशित मिति

२०८१ फाल्गुन २० गते, मंगलवार ०३:४२

फाल्गुण २०, २०८१ काठमाडौँ: गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।

आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

Kamana Sewa

योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।

Classic Tech Desktop

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टिमेट निकालेर ठेक्का प्रक्रियामा जाने योगेशले बताए। हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ ।

‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ’, योगेशले भने। पुनर्निर्मित सडकमा ‘आसफाल्ट कङ्क्रिट’सहित दुई लेनको सडक हुने योगेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।

प्रतिकृया