सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक रहेको हर्कराज राईको आरोप
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०३:२७
२६ साउन २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधिसमेत सुरक्षित नरहेको दाबी गरे ।
उनले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै विगत साढे दुई महिनादेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि पन्छिरहेको आरोप लगाए । धार्मिक तथा साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गर्दै राईले दोषीविरुद्ध उजुरी पर्दासमेत कारबाही नहुनुले सरकारको कमजोरी देखिएको बताए । यस्ता गतिविधिमा संलग्नलाई राजनीतिक आस्था नहेरी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

राईले सुकुमवासी तथा भूमिहीन नागरिकले वर्षौँदेखि जग्गा भोगचलन गरे पनि धनीपुर्जा पाउन नसकेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । स्थानीय तह वा अन्य निकायलाई दोष दिएर उम्कन नहुने भन्दै संघीय सरकारले समन्वय गरी समस्या समाधान गर्नुपर्ने उनले बताए ।

जनताको दैनिक समस्या र सेवा–सुविधाको अभावप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै राईले मन्त्रीहरू एसी कोठामा सीमित भएको टिप्पणी गरे । ग्यासका लागि घण्टौँ लाइन बस्ने तथा माइतीघरमा न्यायका लागि आन्दोलन गरिरहेका नागरिकको पीडा बुझ्न सरकार सडक, खेत, कारखाना र आन्दोलनस्थलसम्म पुग्नुपर्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीका नाममा युवा ठगिने क्रम बढेको र रोजगारीको अभावमा ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै राईले सरकारसँग आश्वासन नभई ठोस कार्यको माग गरे ।
उनले प्रधानमन्त्रीलाई नैतिक तथा पदीय जिम्मेवारी लिन, संसद्सँग संवाद गर्न र जनताको बीचमा जान आग्रह गरे । देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य आवश्यक रहेको उनको भनाइ थियो ।
खेलकुद क्षेत्रको उपेक्षाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए । चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेको भन्दै उनले अन्तर्राष्ट्रिय खेलाडी विदेशमा अलपत्र पर्ने र उपचार नपाउने अवस्थाको अन्त्य गर्न माग गरे।




प्रतिकृया