हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्ड खुसी
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०२:१०
२६ साउन २०८३ काठमाडौं – पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रचण्डले उद्योग पुनः सञ्चालनको पहलका लागि सरकारलाई धन्यवाद दिँदै यसबाट कपडा आयातमा रहेको नेपालको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आफू प्रधानमन्त्री हुँदा हेटौंडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको र त्यसकै आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौंडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको उनले बताएका छन् ।

सरकारबाट बाहिरिएपछि रोकिएको प्रक्रिया अहिले पुनः अघि बढ्न थालेको भन्दै प्रचण्डले सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उद्योग पुनः सञ्चालनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा सहयोग पुग्ने उल्लेख गर्दै उनले सरकारलाई प्रक्रिया परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका छन्।




प्रतिकृया